देउखुरी । लुम्बिनी प्रदेश सभाका सदस्य तारा थापा क्षेत्रीले प्रदेश सरकारले ठूलो उद्योग स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले युवाहरुलाई रोजगारी दिएर विदेश पलायन रोक्नुपर्ने बताउनुभयो ।
थापाले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा तालिम र अध्ययनलाई मात्रै धेरै फोकस बनाइएको छ । त्यो भन्दा पनि लुम्बिनी प्रदेशमा एउटा ठूलो उद्योग सञ्चालन गरेर कम्तिान दुई हजार जना युवालाई रोजगारी दिन सकियो भने हामीले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने अवस्था हुन्थ्यो ।’
उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रमले पहाडका जीर्ण विद्यालय भवन र स्वास्थ्य सेवालाई सुलभ बनाउनेबारे कुनै कार्यक्रम नसमेटेको बताउनुभयो ।
यस्तै, उहाँले विभिन्न स्थान जोड्ने सडकमा यात्रा गर्दा जनताले पाउने सास्तीको चर्चा गर्दै गुल्मीबाट दाङ आउने सडक स्तरोन्नतीका लागि बजेट छुट्याउन माग गर्नुभयो ।
सांसद थापाले केन्द्र सरकारको दबाबका कारण राष्ट्रपतिले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै उक्त विधेयक खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
राजमोले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई आलोचनात्मक समर्थन गरेको पनि उहाँले जानकारी दिनुभयो ।