राँझा । बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ ।
जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन् । आकाशे पानीको भरपर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताउनुभयो ।
सिँचाइको व्यवस्था नभएकाले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता भएको उहाँको भनाइ थियो । ‘धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ’, उहाँको गुनसो थियो ।
बाँकेमा सिँचाइ सुविधा नपुगेका क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीका राखिएको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ । नेपालगञ्ज, खजुरा, जानकी, वैजनाथलगायत क्षेत्रमा किसानले मोटरबाट तानेर वा खोनपानी नै प्रयोग गरेर बीउ राखेका छन् । जसोतसो बीउ राखे पनि वर्षात् नभएका कारण बीउ जोगाउन मुस्किल परेको जानकी गाउँपालिका–५ बेलहरीका किसान रामसुरत यादवको भनाइ थियो ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।
धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमितरुपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिनुभयो ।कृषि ज्ञानकेन्द्रका प्रमुख शकील अहमदले यो वर्ष वर्षा नभएका कारण जिल्लामा धानको बीउ राख्नै किसानलाई कठिनाइ भएको बताउनुभयो । जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस