काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले “नहुनु मामाभन्दा कानो मामा बेस” भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।
सांसद हरि ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो ।
आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा २०८० जेठ २५ गते बिहीबार सांसद डिल्लीराज पन्तले सो शब्दावलीको प्रयोग गर्नुभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्यस वाक्यले दृष्टिविहीन समुदायलाई चोट पुगेको भन्दै संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।
आगामी वर्षको बजेटका बारेमा सांसदहरू छिरिङ डम्डुल लामा, नागिना यादव, विद्या भट्टराई, डिल्लिराज पन्त, अमृतादेवी अग्रहरीलगायतले आफ्ना विचार राख्नुभएको थियो ।
राजस्व बढाउन बिद्युत् र पर्यटनमा महत्त्व दिनुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो । कृषिलाई पनि बजेटले प्राथमिकता दिए आयात कम गर्न सकिनेमा सांसदहरूको भनाइ थियो ।