काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मध्यपहाडी लोकमार्गको काममा भएको ढिलाइबारे संसदमा प्रश्न उठाउनुभएको छ ।
बुधबार बसेको प्रतिनिधि सभामा आफ्ना धारणा राख्दै केसीले मध्यपहाडी राजमार्गमा काम नगर्ने ठेकादारसँगको ठेक्का खारेज गरी अर्को ठेक्का लगाएर तत्काल काम सुरुआत गर्न माग गर्नुभयो ।
बागलुङ क्षेत्र नं १ बा निर्वाचित सांसद केसीले त्यस क्षेत्रका जनता अहिले आन्दोलित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
केसीले भन्नुभयो, ‘मध्यपहाडी लोकमार्ग बागलुङ बजारदेखि बिहुँसम्म २५/३० किलोमिटर पर्छ । ठेकेदारले ठेक्का लिएको २०७२ सालमा र ७५ मा पूरा गर्ने कबुल छ। पाँच पटक म्याद थप्दा पनि त्यो बाटो जस्ताको तस्तै छ। बर्खामा हिलाम्मे, हिउँदमा चाहिँ धुलाम्मे । र, अहिले काठेखोला गाउँपालिकाका जनता अहिले सडकमा छन् र यातायात बन्द गरेर बसेका छन् । सरकारको ध्यानआकर्षित गर्दा पनि त्यो वास्तै हुन्न ।’
केसीले अगाडि भन्नुभयो, ‘यो चाहिँ ठूला ठूला ठेकेदारहरु संसदआ आउने, पेटी ठेकेदारहरुले काम गरेपनि राज्यले पैसा नदिने । अहिले बाटोको जुन खालको दुर्दशा छ, सम्बन्धित मन्त्रालयले त्यो ठेकेदारलाई खारेज गरेर नयाँ प्रक्रियाबाट उक्त बाटोलाई मर्मत गरियोस् । र, त्यो आन्दोलित जनतासँग सम्बन्धित मन्त्रालयले तुरुन्त जनतासँग सम्पर्क गरोस् ।’





