काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुअघि बुधबार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका हुन्।
विवादित नागरिकता विधेयक पारित गर्न भारतको दबाब रहँदै आएको थियो ।
विवाद र जनताको दबाबका कारण लामो समयदेखि जारी हुन नसकेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।
यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई–दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो।
वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।
यसअघि २०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन्। त्यसपछि फेरि भदौ २० गते संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक भण्डारीले शीतल निवासमै अड्काएकी थिइन्।
सोही रोकिएको विधेयकलाई अहिलेका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
