परासी । नवलपरासीको सुनवल चोकमा मेची–महाकाली अभियानको सभा सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल नेतृत्वको पश्चिमी टोलीले २०८० जेठ १५ गते सोमबार सो सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्ष नेपाली राजनीतिको तात्कालिक राजनीतिक आवश्यकता भएको बताउनुभयो ।
नेपाली राष्ट्रियतासामु भारतीय साम्राज्यवाद जस्तै अमेरिकी साम्राज्यवाद पनि प्रखर खतराको रूपमा अगाडि आएको उहाँको दाबी थियो ।
कथित राष्ट्रिय स्वतन्त्र पार्टीको रूपमा अमेरिकाले बेग्लै राजनीतिक पार्टी उभ्याएर सदन र सरकारमा साम्राज्यवादी राजनीति अगाडि बढाउन खोजिएको उहाँको विश्लेषण थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले पनि बोल्नुभएको थियो।
राजमो जिल्ला सल्लाहकार रेम रानाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीले स्वागत गर्नुभएको थियो ।
