काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि चार दिने भारत भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका प्रधानमन्त्री दाहालको भारत भ्रमणको तालिका सार्वजनिक भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकारसँग शिष्टाचार भेटघाट गर्नेछन्।
२० जेठमा समकक्षी मोदीसँग नेपाल र भारतका प्रतिनिधिसहितको उपस्थितिमा भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबीच भएका छलफल र सहमतिबारे हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम रहेको बताइएको छ।
त्यसपछि भारतले नेपाली प्रतिनिधि मण्डलका लागि दिवाभोजको कार्यक्रम गर्ने कार्यतालिका रहेको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ।
प्रधानमन्त्री दाहालले उद्योग वाणिज्य महासंघ नेपाल र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। प्रधानमन्त्रीले भारतमा रहेका नेपालीसँग पनि अन्तरक्रिया गर्ने कार्यतालिकामा उल्लेख छ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले प्रधानमन्त्री दाहालको स्वागत गर्नेछन्। दाहालले मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने अनौपचारिक कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो। भ्रमणमा प्रधानमन्त्री दाहालकी छोरी गंगासहित सचिव र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहनेछन्।