काठमाडौं । पशुपतिनाथको मन्दिरमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको विषयले संसद तालेको छ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले केहीदिन अघि संसदमा पशुपतिनाथमा जलहरीमा सुन भनी पित्तल राखेर भ्रष्टाचार गरेको विषयमा छानबिन हुनुपर्ने माग गरेको विषयले संसदमा तनाव भएको हो ।
यो विषयले शुक्रबार दिनभर जस्तो संसद अवरुद्ध भयो । नेकपा एमालेले यसबारेमा सत्तापक्षको धारणा नआई संसद बैठक चल्न नदिने अडान लियो। सभामुख देवराज घिमिरेले एमाले सांसदलाई बसेर छलफल प्रक्रियामा भाग लिन आग्रह गरे, तर एमाले सांसदहरुले बसेनन्। बरु संसद बेल अगाडि नाराबाजीमा उत्रिए।
सुरुमा २० मिनेटका लागि स्थगित भएको संसद बैठक पछि साँझ ६ बजेसम्मका लागि स्थगित गरियो । सभामुख देवराज घिमिरेले संसद सुचारु गर्ने सम्बन्धमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपनि सहमति जुट्न सकेन ।
के छ महालेखा परीक्षकले जलहरीको विषयमा लेखेको तथ्य?
२०७७ फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथमा ९६ किलोको जलहरी राखेका थियो ।
१०८ केजी सुनको जलहरी बनाउने निर्णय अनुसार काम भएको थियो। बाँकी १२ किलो सुन पछि थप्ने घोषणा गरियो।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरिन्। तर पशुपति नाथमा सुनको जलहरी नराखिएको भन्दै विरोध भयो।

महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२।७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४।७५ ग्राम सुन कायम भएको’ उल्लेख छ।
‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू। ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ। यही विषयलाई माओवादी सांसद दाहालले उठाएका थिए।
(पत्र)
छानबिन गर्न सदंसदीय समिति बन्नुपर्छ : दाहाल
जलहरीको विषय उठान गर्ने नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।
शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरु उठाएको र तत्कालिन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताउनु भयो । आफुले ओलीलाई व्यक्तिगत रुपमा किटान नगरेको उहाँको भनाई छ । उहाँले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि के देखिन्छ भने त्यहाँ हिसाव प्रष्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखांकन नभएको भनेर प्रतिवेदन दिएको तथ्यको आधारमा उहाँको सरकारको पालामा भएको भ्रष्टाचारका काण्डहरु किन नियन्त्रण गर्न सक्नुभएन यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले तपाइले लिनुपर्छ कि पर्दैन भन्ने सन्दर्भमा बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु उठाइरहनुभएको छ मेरो गम्भिरतापूर्वक माग के छ भने संसदीय छानविन समिति गठन गरौँ । त्यो सुन कसले खायो ? नैतिक हिसावले सरकारको नेतृत्व गरेको नाताले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ ।’