काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाएपछि पीडितले राष्ट्रपति गुहारेका छन् ।
टकिापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रेशमलाई नछाड्न माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी हुन् ।
उनले टीकापुर काण्ड जघन्य अपराध भएको भन्दै रेशमलाई छाड्ने छलफलले मात्रै पनि घाउमा नुनचुक छरेको आभास हुने गरेको बताएकी छन् । अपराधीलाई राजनीतिका खास्टो ओढाएर रिहा नगर्न राष्ट्रपति कार्यालयमा पेश गरिएको निवेदनमा आग्रह गरिएको छ ।
सरकारले रेशमलाई यही जेठ १५ गते आमाफी दिने प्रक्रिया अगािड बढाएको छ। कारागारबाट गृहमन्त्रालय हुँदै आममाफीका लागि राष्ट्रपति कार्यालयमा पत्र पुगेको छ ।
चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत र उच्च अदालतको फैसला सर्वोच्चले गतसाता सदर गरेको थियो । फैसला सदर भएसँगै रेशमले अझै १४ वर्ष कैदमा बस्नु पर्ने थियो। तर सरकारले आममाफी दिएर रेशमलाई छाड्ने गरी प्रक्रिया अगाडि बढाएपछि पीडितले त्यसलाई रोक्न राष्ट्रपति समक्ष निवेदन दिएका हुन्।
२०७२ भदौ ७ गते भएको टिकापुर घटनामा एसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालकको हत्या भएको थियो। सोही मुद्दामा जिल्ला अदालत कैलाली उच्च अदालत दिपायल र सर्वोच्च अदालतले रेशमसहित संलग्नलाई जन्मकैदको फैसला गरेका थिए।
रेशम डिल्ली बजार कारागारमा कैद भुक्तान गरिरहेका छन्। तर उनलाई सरकारले बाँकी कैद मिनाहा गरी रिहा गर्ने तयारी गरेको छ।