काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा संघीयता बिरुद्धको जनमत तयार भइरहेको पनि बताउनु भयो ।
उहाँले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका बिरुद्धमा नेपालमा जनमत तयार गइराखेको । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ । त्यसकारणले मौकामै हामी शतर्क हुनुपर्छ । लोकतन्त्र र गणतन्त्रमाथि प्रतिगमनको खतरा अझै रहेको छ । लोकतन्त्रबिरुद्ध बादल मडारिएको छ यसका विरुद्धमा हामी शतर्क हुनुपर्छ र एक हुनुपर्छ ।’
उहाँले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनु भयो ।
केसीले भन्नुभयो, ‘कालापानीबाट भारतीय सेना हटाइनेछ भन्ने वाक्य थप गर्नुपर्छ । संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन भन्ने वाक्यांश हटाइ संघीयता खारेज गरी संविधानको कार्यान्वयन भन्ने वाक्यांश राख्नुपर्छ । संघीयता हुँदैन ।’