• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

थबाङमा कम्युनिस्ट पार्टीको स्थापना र सुनछहरी

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१२ "

  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    २०११ सालमा राजद्रोहको मुद्दामा खगुलाल गुरुङ, नन्दलाल गुरुङ, रुमबहादुर पाण्डे, सिद्धिमान जिसी, नेपाली काङ्ग्रेसका हेमराज पण्डित र मसहित ६ जना प्युठानमा गिरफ्तार भएका थियौँ । २०१३ सालमा सल्यान अपिलले हामीलाई तारिकमा छाडिदियो । एकदुई पल्टको तारिकपछि हाम्रा विरुद्धको मुद्दा खारेज गरियो । सल्यान जेलबाट छुटेका दिन हामी मरिचमान सिंह श्रेष्ठका घरमा गएर बसेका थियौँ । त्यो बेला उनले हामीलाई पार्टीको सदस्यताका लागि दरखास्त पनि दिएका थिए तर उनलाई पार्टीको सदस्यता दिने काम बाँकी नै थियो । पछि पञ्चायती शासनअन्तर्गत उनी प्रधानमन्त्री पनि भएका थिए ।

    Advertisement

    सल्यानको अपिलले हाम्रो मुद्दा टुङ्ग्याएपछि अरू साथीहरू प्युठानतिर फर्कनुभयो, खगुलाल गुरुङ, रुमबहादुर पाण्डे र म तीन जना पैदल बाटो हुँदै—त्यो बेला त्यहाँ मोटरबाटा बनेका थिएनन्—हामी जाजरकोट र रुकुमको बाटो भएर थबाङ पुगेका थियौँ । त्यो बेला मैले प्रथमपल्ट जलजला धुरी देखेको थिएँ । त्यही बेला हामीले त्यहाँको पार्टीको कमिटी भूमिगत रूपले र अखिल नेपाल किसान सङ्घको शाखा पनि खोलेका थियौँ । त्यस बेला त्यहाँ पार्टीको जुन सङ्गठन गरियो, पछि त्यो हाम्रो पार्टीको गढ नै बनेको थियो । पञ्चायती कालमा पार्टीका कैयौँ साथीहरू शिक्षक भएर त्यहाँ जानुभएको थियो । उहाँहरूले त्यहाँ पार्टीको सङ्गठन गर्न धेरै मदत पु¥याउनुभएको थियो । त्यो बेला शिक्षक भएर थबाङ गएर भूमिगत रूपले पार्टीको सङ्गठन गर्ने साथीहरूमा विद्याधर थापा, खिमानसिंह गुरुङ, कृष्णबहादुर केसी, हीरा थापा, रमेशमान गुरुङ, सुवर्ण पौडेल आदि हुुनुहुन्थ्यो । पछि जलजला पनि पार्टीको सङ्गठन गर्न त्यहाँ गएकी थिइन् र भूमिगत रूपले १० महिनाजति त्यहाँ बसेर पार्टीको काम गरेकी थिइन् ।

    थबाङमा पार्टीस्थापनाको सन्दर्भमा एउटा उल्लेखनीय घटना रहेको छ । प्युठानका बडाहाकिम प्रतिमान बोहरालाई कम्युनिस्टको आरोप लगाएर केन्द्रमा बोलाएपछि त्यहाँ एउटा नयाँ बडाहाकिमलाई बोलाइएको थियो । २०११ सालमा गिरफ्तार भएका हामी ६ जनामध्ये खगुलाल गुरुङ, हेमराज पण्डित र मलाई पाल्पा जेलमा चलान गरिएको थियो भने हाम्रा बाँकी ३ जना साथीहरू प्युठान जेलमा नै हुनुहुन्थ्यो ।

    त्यो बेला रोल्पा प्युठान जिल्लामा नै पर्दथ्यो । प्युठानमा आएका नयाँ बडाहाकिमले जिल्लामा दौडाह गरेर ठुलो पैमानामा भ्रष्टाचार गरेका थिए । उनको दबाबमा आएर पैसा दिन तयार नहुने मान्छेलाई उनले कैयौँ आरोप लगाएर गिरफ्तार गरेर जेलमा हाल्दथे । बडाहाकिमलाई पैसा दिन तयार नभएपछि थबाङका पाँचसात जनालाई गिरफ्तार गरेर प्युठान जेलमा हालिएको थियो, जसमध्ये बर्मन बुढा, कृष्णबहादुर बुढा पनि हुनुहुन्थ्यो ।

    प्युठान जेलमा गिरफ्तार भएर ल्याइएका थबाङका बन्दीहरूको प्युठान जेलमा रहेका हाम्रा साथीहरूसँग सम्पर्क भयो र उहाँहरूमाथि कम्युनिस्ट पार्टीको केही प्रभाव पनि पर्यो । सल्यान जेलबाट छुटेपछि हामीले प्युठान जेलमा थुनिएका थबाङका साथीहरूसित सम्पर्क गरेर त्यहाँ पार्टी र किसान सङ्घको समेत स्थापना गर्यौं ।

    थबाङमा पार्टी र किसान सङ्घको सङ्गठन गरेपछि खगुलाल गुरुङ केही दिनका लागि त्यहीँ बस्ने सल्लाह भयो । रुमबहादुर र म प्युठानको लागि हिड्यौँ ।

    प्युठान जान लागेका बेलामा हामीले पोबाङ गाउँपल्तिर एउटा ठुलो छहरा देख्यौँ, जसको नाम सुनछहरी थियो । त्यो छहरा देखेर म धेरै नै प्रभावित बनेँ । त्यो बेला मेरो मनमा त्यो छहरालाई नापे र त्यसको उचाइ पत्ता लगाउने विचार आयो तर त्यसलाई कसरी नाप्ने ? त्यो सजिलो काम थिएन । त्यसका लागि हामीसित कुनै साधन पनि थिएन तैपनि एउटा उपाय सोच्यौँ । हामीले गाउँलेहरूलाई एउटा रसी बाट्न लगायौँ । रुमबहादुर र मैले के सल्लाह गर्यौं भने मैले छहराको माथि गएर एउटा ढुङ्गा बाँधेर त्यो रसीलाई तल छाडिदिने र त्यो ढुङ्गा बाँधेको रसी तल आइपुगेपछि उहाँले चिच्याएर त्यो रसी तल आइपुगेको बताउने, अनि मैले माथि त्यो रसी काटिदिने त्यसपछि त्यो रसी नापेर त्यो छहराको लम्बाइ नाप्ने ।

    हाम्राबिचमा भएको त्यो सल्लाहअनुसार म छहराको माथि गएँ र रुमबहादुर तलतिर । मैले माथि गएर एउटा ढुङ्गामा बाँधेर त्यो रसी छाडिदिएँ तर छहरा यति अग्लो थियो र त्यसको स्वर यति ठुलो थियो कि मैले माथिबाट तल जानुभएका रुमबहादुरलाई देख्न सकिनँ, मेरो आवाज पनि छहराको स्वरमा कतै हरायो । मैले कैयौँ पल्ट चिच्याएर कराउँदा पनि तलबाट कुनै जवाफ आएन । त्यो छहराको आवाजको कारणले हामीमध्ये कसैको पनि आवाज कसैले पनि सुन्न सम्भव भएको थिएन । मैले माथिबाट ढुङ्गा बाँधेर पठाएको रसी पनि छहरामा नै कतै हराएको थियो, उहाँले पाउनुभएको थिएन । हामी दुवै जनाका बिचको सम्पर्क विच्छेद भयो ।

    म वनको बाटो पाल्तिरको पोबाङ गाउँमा जानका लागि हिँडे । वन धेरै नै अप्ठ्यारो र ढुङ्ग्यान थियो । केही बेरमा झमक्क साँझ पर्यो ।  केही बेर हिँडेपछि मैले एउटा थारो देखेँ । त्यसमा आगो बलिरहेको थियो । म त्यहाँ गएँ । त्यहाँ दुईओटा केटीहरू मात्र गोठमा बस्दा रहेछन् । त्यहाँ बास बस्ने कुरा मैले गर्न सकिनँ । उनीहरूले एउटा अगुल्टो बनाइदिएर त्यसको उज्यालोमा बाटो हेर्दै म खोलातिर झरेँ । खोलो धेरै अप्ठ्यारो थियो । खोलापारि ठुलो भिर थियो । त्यहाँ बाटो पत्ता लगाउन पनि सम्भव थिएन । म खोलाको आधी आधीमा पुग्दा अगुल्टो निभ्यो । खोलामा ठुला ठुला ढुङ्गा थिए । अब वारि फर्कन पनि सम्भव थिएन, पारि जान पनि सम्भव थिएन । खोलाको बिचमा उउटा च्याप्टो ढुङ्गो थियो । म त्यसैमा बसेँ । दिनभरि हिँडेको हुनाले थकाइ धेरै लागेको थियो । निद पनि लागिरहेको थियो । ढुङ्गो धेरै चिसो थियो । जाडो पनि धेरै थियो तैपनि सुत्नका लागि त्यही ढुङ्गामा पल्टेँ । सुरुवाल छोडाएर ओछ्याए, अरू कुनै उपाए थिएन । रातभरि जाडोमा कठ्याङ्ग्रिएर त्यही ढुङ्गामा पल्टिरहेँ ।

    अर्को दिन बिहान उज्यालो भएपछि म त्यहाँबाट खोलापल्तिर हिँडे । उज्यालोमा पनि त्यो खोला तर्न धेरै गाह्रो थियो तैपनि बल्लबल्ल खोला तरेँ । खोला तरिसकेपछि पनि भिरको बाटो माथि जान धेरै अप्ठ्यारो थियो । त्यो खालि १५ मिनेटको बाटो थियो होला तर त्यो पार गर्न मलाई कमसेकम तीन घण्टा लाग्यो । म केही उकालो चढ्थेँ । केही सम्म ठाउँ फेला परेपछि म त्यहीँ पल्टिन्थे र सुत्दथेँ ।

    केही बेरमा घाम पनि लाग्यो । घामको न्यानोमा केही बेर सुत्दथेँ । त्यसो गर्दागर्दै हिजो हामी बसेको बुढा बाको घरमा पुगेँ । त्यो घरका र छरछिमेकका मानिसहरू मलाई केही भयो कि भनेर आत्तिएका रहेछन् । रुमबहादुर र अरू दुईचार जना मानिस भएर मलाई खोज्न वन र छहरातिर पनि गएका रहेछन् । मलाई फेला नपारेपछि रुमबहादुर जगुरतिर हिँड्नु भएछ । त्यहाँ हाम्रो साथी र काङ्ग्रेसका नेता खडानन्दको घर थियो ।

    म पुगेपछि हामी हिजो बसेको घरका मान्छेले मलाई आटो पकाएर दिए । त्यो जौको आटो थियो । मैले पहिले कहिल्यै त्यो आटो खाएको थिइनँ । मैले त्यो आटो खान सकिनँ । बुढा बाले एउटा ठुलो कचौराभरि ल्याएर मह दिनुभयो । त्यो महसित मैले त्यही आटो खाएँ । एउटा ठुलो बाँसको ढुङ्ग्रोमा उहाँले त्यो मह हालिदिनुभयो र भन्नुभयो : ‘बाटामा पानीसित यो मह खानू ।’

    म गजुर पुग्दा खडानन्दले मलाई खोज्न जान बाजा बजाएर सारा गाउँलाई जम्मा गर्न थाल्नुभएको रहेछ । प्युठानका नेकाका सभापति अनिरुद्र शर्मा पनि त्यहीँ आउनुभएको रहेछ । मलाई आएको देखेर सबै जना धेरै खुसी हुनुभयो । पछि हामी तीनचार जना भएर पुनः पोबाङ गाउँमा गयौँ । त्यहाँ गाउँका मान्छेहरूलाई जम्मा गरेर मोटा डोरी बाट्न लगायौँ । त्यसपछि थुप्रै गाउँले मान्छेसहित हामी त्यो छहरामा गयौँ । हामीले माथिबाट ढुङ्गो बाँधेर डोरी तल फालिदिएर त्यो छहराको उचाइ नाप्यौँ ।

    २०१४ सालको जेठमा पार्टीको दोस्रो महाधिवेशनमा सामेल हुनका लागि हामी काठमाडौँ गयौँ । त्यो बेला संसारका र एसियाका पनि अन्य छहराको उचाइसित तुलना गर्दा सुनछहरी छहरा एसियाको दोस्रो सबैभन्दा अग्लो छहरा भएको ठहर्याएको थियो । त्यसबारे मैले वक्तव्य पनि दिएको थिएँ । त्यो बेलाका केही दैनिक पत्रिकाहरूले त्यो समाचार प्रकाशित गरेका थिए ।

    त्यो सुनछहरीको उचाइ वैज्ञानिक प्रकारले जाँच गरेमा संसारका वा एसियाका अन्य छहराको तुलनामा त्यसको वास्तविक स्थितिबारे थाहा हुन सक्दथ्यो ।

    धेरै वर्षपहिले जेठ महिनामा भूमेमेला लाग्ने बेलामा म जलजला धुरी र थबाङमा गएको थिएँ । त्यो बेला मसित जितेन्द्र सिंह, मेघनाथ विष्ट, शशिधर भण्डारी, गोपाल नेपाली, फ्रान्सबाट आएका शोधछात्र क्लेमेल पनि सँगै जानुभएको थियो । त्यो बेला मेरो यात्राको उद्देश्य “जलजला उपन्यास” का लागि सामग्री जुटाउने थियो । त्यो बेला थबाङ जाँदा हाम्रो भेट रामप्रकाश पुरी र शत्रुध्न श्रेष्ठसित पनि भएको थियो । त्यो बेला जलजला धुरी र थबाङ जादा पोबाङबाट मैले सुनछहरी छहरा हेरेको थिएँ । त्यसलाई मैले धेरै बेरसम्म हेरेको थिएँ र त्यससित जोडिएका पुराना धेरै कुरा सम्झेको थिएँ ।

    त्यो बेला उपन्यासका लागि तयार पारेका मेरो नोटको कपी कतै हराएको थियो । त्यसैले उपन्यासका सामग्रीहरू तयार पार्न करिब दुई वर्षपहिले म पुनः थबाङ गएको थिएँ । यसपल्ट पनि मैले पोबाङ गाउँबाट धेरै बेरसम्म सुनछहरीलाई हेरेको थिएँ र मेरो मनमा पुराना स्मृति पुनः ताजा भएका थिए ।

    त्यो बेला मैले पहिले त्यो छहराबाट फर्केर आउँदा रातमा खोलाको च्याप्टो ढुङ्गामा रात बिताएको कुरा पनि सम्झेर त्यो ढुङ्गालाई पनि पत्ता लगाउने कोसिस गरेको थिएँ तर मैले त्यो ढुङ्गालाई ठहर्याउन सकेको थिइनँ । त्यो बेला मलाई बाँसको ढुङ्ग्राभरि मह दिने बुढा बालाई पनि सम्झेको थिएँ तर मैले पोबाङको त्यो घर पनि पत्ता लगाउन सकेको थिइनँ र अब ती बुढा बाको या त मृत्यु भइसकेको होला वा उहाँ धेरै वृद्ध भइसक्नु भएको होला ।

    २०८० वैशाख १८ गते

    बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.