विष्णु शर्मा
हामीले आफ्ना अधिकारहरू खोज्नुको सट्टा
कतै आफ्नै पैतालाले दबाएका त छैनौँ ?
आफूसम्म आएको बलिदानीको खजानालाई
कतै कोशौँ टाढासम्म भगाएका त छैनौँँ ?
गरगहना जीवनका बन्धन हुन् भन्नुको सट्टा
कतै त्यसैमा मोह लगाएर बसेका त छैनौँ ?
तिनै कसिला बन्धनहरू नपाउँदाखेरी
कतै बलिन्द्र धारा आँसु बगाएका त छैनौँ ?
पैत्रिक सम्पत्तिमा अधिकार खोज्नुको सट्टा
कतै माइती मेटिने डर त मानेका छैनौँ ?
माया र मोहको भुलभुलैयामा भुलेर
कतै आफ्नै अधिकार कुण्ठित पारेका छैनौँ ?
आफ्नाहरूको खुसीको ख्याल राख्दाराख्दै
कतै स्वयम्का खुसी मारेका त छैनौँ ?
स्वतःसिद्ध आफूलाई आउने अधिकारमा
कतै हात थापेर लिन बानी परेका त छैनौँ ?
महिलामुक्तिका बाधक पुराना कुसंस्कारलाई
कतै बलियोसँग समाएका त छैनौँ ?
पुरुषको पक्षमा मात्र लेखिएका धार्मिक ठेलीलाई
कतै अन्तरमनभित्र जमाएका त छैनौँ ?
समाजले हाम्लाई विभेद गर्दा
दुई थोपा आँसु झारी चित्त बुझाएका त छैनौँ ?
शिक्षित छोरीले अन्यायको विरोध गर्दा
कतै छोरीले यसो गर्नुहुन्न भनेर सुझाएका छैनौँ ?
सन्तानहरू छोरी छोरी जन्मिदा
कतै स्वर्ग नजाने चिन्ताले सताएको त छैन ?
घर र समाजको रङ्गिविरङ्गी भनाइले
कतै आफ्नो अन्तरमनलाई अताएको त छैन ?
छोरीको ज्यानसम्म लिने दाइजो प्रथालाई
कतै हामीले नै फस्टाउन दिएका त छैनौँ ?
जानअन्जानमा हाम्रा सन्ततीको ज्यान
कतै हामी आफै लिएका त छैनौँ ?
पुरुषले हाम्रो अधिकार खोसेर लाँदा
कतै टुलुटुलु हेरेर बसेका त छैनौँ ?
एक्काइसौँ शताब्दीको निकट आउँदा पनि
न्याय र समानताको निम्ति चुप बसेका छैनौँ ?
छोराछोरी एकै हुन भन्ने हुँकार सुन्दा
अब त हामीले विश्वास गर्नुपर्छ लागेको छ ?
हो हामी उत्पीडनमा परेकाहरूबाट इतिहासले
समतामुखी घर बनाउन एउटा इँटा मागेको छ ।

