काठमाडौं । वैशाख १० गते भएको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
सो क्षेत्रबाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्वडीआईजी रमेश खरेलको भने जमानत जफत भएको छ।
यहाँ कुल ६९ हजार २२ मत खसेकोमा खरेलले १० प्रतिशत पनि मत पाएनन्। बुधबार बिहान सार्वजनिक औपचारिक परिणाममा जसपाका उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी भए।
जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ र नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउँदा खरेलले ३ हजार मत पनि ल्याउन सकेनन्।
यहाँ उनले जम्मा २ हजार ८२९ मत मात्रै पाए, जुन कुल मतको ४ दशमलव १४ प्रतिशत हो। १० प्रतिशत मत कटाउन नसकेपछि खरेलको जमानत जफत भएको हो।
चितवन र तनहुँमा फराकिलो मतअन्तरसहित चुनाव जितेको रास्वपाको बारामा भने जमानत जफत भएको छ ।