बागलुङ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकीले संसारभर रहेका नेपालीलाई संगठित पार्ने प्रयास भइरहेको बताउनुभएको छ ।
जातीय समता समाजका नेता बेगबहादुर विकप्रति श्रद्धाञ्जली दिन ढोरपाटन ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले विदेशका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई एकतावद्ध भएर संगठनमा आवद्ध गराउन गतिविधिहरु सञ्चालन भइरहेको बताउनुभयो ।
बुढाथोकी हालै सम्पन्न अनतर्राष्ट्रिय नेपाली एकता समाजको भेलाबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । हङकङ कार्यक्षेत्र भएका बुढाथोकी हालै गृहजिल्ला बागलुङ आउनुभएको हो ।
मंगलबार भएको भेलाले सो कार्यक्रममा नेकपा (मसाल) का बागलुङ जिल्ला प्रवक्ता मेकबहादुर पाइजाले वेगबहादुरप्रति श्रद्धाञ्जली अर्पण गर्दै विक एक जुझारु तथा क्रान्तिकारी विचारप्रति प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।
ढोरपाटन नगरपालिका–४ निवासी विकको ८८ वर्षको उमेरमा निधन भएको थियो । उहाँ जातीय समता समाजका साविक खुङ्गा गाउँपालिकाको सदस्य हुनुहुन्थ्यो।
कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला सदस्य पवित्रा कुमारी सञ्ज्याल, अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिका सदस्य प्रेमलाल अर्गेजाको पनि उपस्थिती रहेको थियो ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर अध्यक्ष खडक बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कुल बहादुर छन्त्याल र स्वागत कोषाध्यक्ष इन्द्रमान छन्त्यालले गर्नुभएको थियो ।
