दैलेख । दैलेखको आठबिस नगरपालिका–१ डाब नजिक कर्णाली राजमार्गमा जी दुर्घटना भएको छ । सोमबार दिउँसो १ ज ५५ नम्बरको जीप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट कालिकोटको नरहरिनाथ गाउँपालिकातर्फ गइरहेका उक्त जीपमा सवार १४ जना घाइते घएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइते हुनेमा जिल्ला कालिकोट नरहरिनाथ गाउँपालिका–७ बस्ने ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीया दुर्गा बोगटी, ७ वर्षीया प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका–२ बस्ने १४ वर्षीय सरद विष्ट, नरहरिनाथ–५ बस्ने २० वर्षीया मनिषा बोगटी, सोही पालिका ८ नम्बर वडामा बस्ने ५५ वर्षीया गोपिकला विष्ट, ७ नम्बर वडाकी ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी रहेका छन्।
यस्तै, नरहरिनाथ गाउँपालिका–७ कै ६ वर्षीया स्वस्तिका बोगटी, १२ वर्षीया कल्पना सहकारी, ५ वर्षका भुवन बटाला, सोही पालिका–५ बस्ने १२ वर्षीय शुवास सहकारी र जीप चालक नरहरिनाथ–७ का २४ वर्षीय धन बहादुर बटाला घाइते भएको प्रहरीले जनाएको छ।
जीपको ब्रेक फेल भएर सडकबाट तल खसेको अनुमान गरिएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।