केरसिंह अदै, कपिलवस्तु ।
प्रगतिशील पत्रकार संघ, नेपाल कपिलवस्तुको अध्यक्षमा मोहन बेल्बासे चयन हुनुभएको छ । मंगलबार कपिलवस्तुको गोरुसिङेमा सम्पन्न भेलाले बेल्बासेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सितल आचार्य, सचिव नारायण प्रसाद भट्टराई, सह सचिव दुर्गा प्रसाद आचार्य र कोषाध्यक्षमा विनोद परियार चयन हुनुभएको छ ।
सदस्यहरुमा सिर्जना खनाल, नवराज पौडेल, रिसव आचार्य, रामु यादव, प्रकाश विक, रामप्रसाद आचार्य, माधव प्रसाद पौडेल र टिना अदै रहनु भएको छ । भेलाले सशी सापकोटा, केरसिंह अदै, यज्ञ पौडेल, र सिर्जना सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।

भेलाको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोख्रेलले आफूहरुले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको आवाज उठाउने, भष्टाचारको विरोधमा कलम चलाउने हुँदा संगठन सानो देखिएको बताउनुभयो । उहाँले अहिले नेपालको ठूला मिडियाहरुमा विदेशी लगानी रहेको भन्दै स्वस्छ, निष्पक्ष पत्रकारिता गर्न कठिन रहेको बताउनुभयो ।
अध्यक्ष पोख्रेलले पत्रकारहरुलाई अनुशासनमा रही निडर भई निष्पक्ष पत्रकारिता गर्न निर्देशन गर्नुभएको थियो । उहाँले यही चैत्र २४ र २५ गते बुटवलमा हुने संघको एेतिहासिक राष्ट्रिय सम्मेलन सफल पार्न यो भेलाले महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो ।

त्यस्तै, भेलामा पत्रकार महासंघका केन्द्रीय सदस्य ससि सापकोटा, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद तथा अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदै, अखिल नेपाल युवक संघका नवराज केसीले पनि सफलताको शुभकामना दिनुभएको थियो ।
यसैगरी नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष सञ्जीला बुढामगरले बधाई दिनुभएको थियो ।
भेलाको अध्यक्षता प्रगतिशील पत्रकार संघ, नेपाल कपिलवस्तुका अध्यक्ष मोहन बेल्बासेले गर्नुभएको थियो ।
भेला पछिको प्रथम बैठकले जिम्मेवारी बाँडफाँड गर्नुको साथै राष्ट्रिय सम्मेलन सफल पार्नेबारे विभिन्न निर्णय गरेको छ ।