काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनै युवा जनही ५ हजार धरौटी बुझाएर छुटेका छन्।
प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएकोमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले चैत १२ गते जनही ५–५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।
प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का आइतवार जेल चलान भएका थिए। तर उनीहरु मंगलबार प्रशासनमा जनही ५–५ हजार धरौटी बुझाएर डिल्ली बजार जेलबाट रिहा भएका हुन् ।
गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो।