शंकर प्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । सोमबार बुटवल बजारमा नारा जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

बुटवलको नयाँ बसपार्कबाट जुलुससहित अगाडि बढेको विरोध प्रदर्शन ब्यापारी केन्द्र अमरपथमा पुगेर सभामा परिणत भएको थियो।

विरोध कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष बद्रे आलमले सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाले उठाउँदै आएको संघीयता विरुद्धको आन्दोलनमा नेपाली जनताको व्यापक साथ रहेको बताउनुभयो । उहाँले केही राजावादीहरुले संघीयताको विरोध गरेतापनि उनीहरु र आफू बिचको संघीयता विरोधि आन्दोलन फरक रहेको बताउनुभयो ।


कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरि प्रसाद बुढा र राजमो केन्द्रीय सदस्य राम कुमार क्षेत्रीले पनि सम्बोधन गर्नुभएको थियो ।

विरोध प्रदर्शनमा ‘संघीयता खारेज गर, बढ्दो मंहगी नियन्त्रण गर, राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरोँ, मिटरब्याजीलाई कारबाही गर’ जस्ता चर्का नारा सहित प्रदर्शन गरिएको थियो ।

राजमो रुपन्देही जिल्ला अध्यक्ष इन्दिरा ज्ञावलीको अध्यक्षताबाट अघि बढेको विरोध सभाको सञ्चालन राजमो जिल्ला सचिव टान बहादुर केसीले गर्नुभएको थियो।

