काठमाडौं । सरकारले रासायनिक मलको मूल्यवृद्धि हुने गरी अनुदान कटौती गर्ने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघिको निर्णय उल्ट्याउँदै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको हो।
सरकारले फागुन ३० मा रासायनिक मल आयातमा प्रदान गर्दै आएको अनुदान घटाउने निर्णय गरेको थियो।
अनुदान घटाएपछि युरियामा ११ रुपैयाँ प्रतिकेजी, डीएपीमा ७ रुपैयाँ प्रतिकेजी, पोटासमा ९ रुपैयाँ प्रतिकेजी बढ्ने थियो । तर राजनीतिक दलसहित जनस्तरबाट पनि सरकारको उक्त निर्णयको चर्को आलोचना भएपछि सोमबारको मन्त्रिपरिषद्ले त्यसलाई यथावत राख्ने निर्णय लिएको हो।
युरियामा कुल लागतको ८० प्रतिशत, डीएपीमा ५९ प्रतिशत र पोटासमा ५८ प्रतिशत सरकारले अनुदान प्रदान गर्ने गरेको थियो ।
उक्त निर्णयअनुसार युरियामा साढे ६४ प्रतिशत, डीएपीमा ५२ दशमलव ३८ प्रतिशत र पोटासमा ४६ प्रतिशत अनुदान प्रदान गर्न लागिएको थियो। तर सोमबारको मन्त्रिपरिषद्ले पुरानै अनुदानलाई यथावत राख्ने निर्णय लिएको हो।
यसअघि कृषि विकास तथा पशुपन्छी मन्त्रालयले अनुदान घटाएर सरकारी निकायमार्फत आयात गर्दा समयमा नै मल नआउने, आवश्यकताभन्दा कम परिमाण समेत आएको देखिएको दाबी गरेको थियो।