काठमाडौं । अखिल नेपाल महिला संघको ७ औँ राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । अगामी फागुन २ र ३ गते बुटवलमा हुन गैरहेको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुनले जानकारी दिनुभएको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्ने कार्यक्रम छ । सम्मेलनको नारा ‘महिलाको समान अधिकार र राष्ट्रियताको रक्षाको लागि हाम्रो आन्दोलन, महिला हिंसा विरूद्ध ७ औं राष्ट्रिय सम्मेलन’ तय गरिएको छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कालाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गर्नेछन् । उद्घाटन शुरु हुनु अघि जुलुश सहित बुटवल बजार परिक्रममा गरिने तयारी भएको अध्यक्ष पुनले जानकारी दिनुभयो । सम्मेलनमा ७ वटै प्रदेशबाट कारिव ४ सय जना प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थिती रहने उहाँले जाकारी दिनु भयो । अध्यक्ष पुनका अनुसार सबै जिल्लाहरुको भेला तथा सम्मेलन सम्पन्न भैसकेको छ । राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
सम्मेलनबाट राजनीतिक, आर्थिक प्रतिवेदन पारीत हुने छ । अध्यक्ष पुनका अनुसार राष्ट्रिय सम्मेलनबाटै महिला हिंसा विरुद्वको प्रतिवेदन पारित गरि चैत्र महिनादेखि अभियान सुरु गरिनेछ । सातौं राष्ट्रिय सम्मेलने महिला हिंसा विरुद्ध ठोस कार्यक्रम बनाउनुका साथै राष्ट्रियता, सीमा अतिक्रमण, एमसीसी लगायतका विषयमा प्रस्ताव पारित गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
अखिल नेपाल महिला संघ, नेपाली महिला आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको संगठन हो । आफ्नो स्थापना कालदेखि नै महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरूष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । छोरीलाई छोरा सरह सम्पत्तिमा समान अधिकारको लागि हाम्रो संगठनले ३ दशकभन्दा लामो समय संघर्ष गर्दै आएको छ ।
२०४५ सालमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले पारित घोषणा पत्रमा छोरीलाई सम्पत्तिमा समान अधिकार हुनु पर्दछ भन्ने माग समावेश गरेको थियो । रोजगारमा समानता र समान कामको समान ज्याला, मातृत्व र प्रजनन् अधिकार, स्वास्थ्य र शिक्षामा समान हक, महिला बेचविखनको अन्त्य, घरेलु हिंसा लगायत महिला विरूद्धका सबैखाले हत्या र हिंसाको अन्त्य, राज्य सञ्चालनका सबै तहमा महिलाहरूको समान सहभागिता, बालगृहको व्यवस्था, पारिवारीक अदालतको गठन लगायतका विषयहरूमा हाम्रो संगठनले निरन्तर रूपमा आन्दोलन गर्दै आइरहेको छ ।
महिलाका यिनै आधारभूत मागका विषयमा आम महिलाहरूलाई जागरूक, सचेत, संगठित गर्न र राज्यलाई महिलाका यी मागहरूको पक्षमा कानुन बनाउन दबाब दिने उद्देश्यले देशव्यापी रूपमा कैयौं अभियानहरू सञ्चालन भए । महिला अधिकारपत्र राष्ट्रिय अभियान २०५१–०५२, गोलमेच सम्मेलन, अखिल नेपाल महिला राष्ट्रिय अभियान २०५८–०५९ लगायतका राष्ट्रिय अभियान अखिल नेपाल महिला संघले सञ्चालन गरेका महत्वपुर्ण ऐतिहासिक कार्यक्रम हुन् ।
