काठमाडौँ । माओवादी सङ्गठनहरूले शान्तिसम्झौता विपरीतका गतिविधिको संयुक्त रूपमा प्रतिवाद गर्ने दाबी गरेका छन् ।
२०७९ फागुन २८ गते आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयाजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उनीहरूले यस्तो दाबी गरेका हुन् ।
यस क्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अग्रगमन र प्रतिगनबिचको लडाइँ पेचिलो बन्दै गएकाले शान्तिसम्झौता विपरीतका गतिविधि देखा पर्न खोजेको बताउनुभयो ।
नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमीले विस्तृत शान्ति सम्झौताको मर्मविपरीतका गतिविधि देखिएकाले आफूहरू एकै ठाँउमा आइपुगेको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीले माओवादीमाथिको आक्रमण नेपाली जनतामाथिको आक्रमण भएको दाबी गर्नुभयो ।
वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले विस्तृत शान्तिसम्झौताअनुसार जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुङ्गो लगाउने भनिए पनि नियमित अदालतमा लैजाने विषय आफैमा मिल्दो नभएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेल, नेकपा महासचिव नेत्रविक्रम चन्द, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला र माओवादीका म्युनिसट पार्टीका महासचिव रामनारायण पाल उपस्थिति हुनुहुन्थ्यो ।
त्यस क्रममा संयुक्त विज्ञप्ति जारी गरिएको थियो । विज्ञप्तिमा द्वन्द्वबाट पीडित नागरिक तथा उनीहरूका परिवारलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले विद्यमान कानुनमा सुधार गर्न दिएको निर्देशनमा आफूहरूको ध्यान गएको उल्लेख छ । मुलुकमा विद्यमान जातीय, क्षेत्रीय, लिङ्गीय वर्गीयलगायतका समस्या समाधान गरी राज्यको अग्रगामी पुन:संरचना गर्ने सङ्कल्प गरिएको छ ।