काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा फरक लिङ्ग र जातिको उम्मेदवार दर्ता गर्न आग्रह गरेको छ ।
फागुन २५ गते राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल पुरुष लिङ्ग र खसआर्य जातिबाट राष्ट्रपति चयन भइसकेको सन्दर्भमा आयोगले अब उपराष्ट्रपति महिला र गैरखसआर्य जातिबाट हुनुपर्ने बताएको हो ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा २०७९ फागुन २६ गते जारी प्रेसविज्ञपितमा यस्तो निर्देशन दिइएको हो ।
यस्तो छ प्रेसविज्ञप्तिको पूर्ण पाठ :
“निर्वाचन आयोगको आज मिति २०७९।११।२६ गते बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन–२०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको साथै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन–२०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खसआर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयन पत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खसआर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्ने ब्यहोरा उल्लेख गरिएको छ ।”