जगदीश ढकाल, कोहलपुर ।
अखिल नेपाल महिला संघ बाँकेको आयोजनामा कोहलपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।
कोहलपुर चौराहमा बुधबार एक सामारोह आयोजना गरी महिला संघले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य पूर्णकला भण्डारीले महिलामाथि हुने अनेक खालका शोषण, हिंसा, हत्या, दमन, अत्याचारका विरुद्ध संघर्ष गर्दै समाजको आमूल परिवर्तनको संबाहक बन्न महिलाहरुले योगदान दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो।
त्यस्तै, विशेष अतिथि अखिल नेपाल किसान महासंघका महासचिव तुलसिराम सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भएका न्यायपूर्ण महिला आन्दोलनको चर्चा गर्दै शोषणरहित समाजसहितको राज्यव्यवस्था निर्माणको लागि महिलाहरुको आन्दोलन अझै सशक्त रुपले अघि बढ्दै जानुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
महिला संघ बाँकेका उपाध्यक्ष पार्वती कार्कीको अध्यक्षतामा तथा ग्यानुमाया रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार लगायत जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।