काठमाडौँ । काठमाडौँ उपत्यकाबाहिर स्थायी ठेगाना भएर यहाँ अस्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकले उपत्यकाभित्रैबाट पाँच स्थानबाट राष्ट्रिय परिचय पत्रको आवेदन भर्न पाउने भएका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले २०७९ फागुन १७ गते बुधबार सूचना जारी गर्दै काठमाडौँ र ललितपुरका विभिन्न पाँच स्थानमा परिचय पत्र विवरण दर्ता स्टेसन स्थापना गरिएको जानकारी दिएको हो ।
हाल देशभरका ७७ ओटै जिल्ला प्रशासन कार्यालय, ४२ ओटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सकिन्छ ।
यसबाहेक उपत्यकाबाहिरका सेवाग्राहीलाई अत्यावश्यक पर्दा सहजता प्रदान गर्न सरकारले उपत्यकाभित्र केही स्थान तोकेको हो। त्यसकारण विभागले सकेसम्म आआनो स्थायी ठेगाना भएका जिल्ला प्रशासन तथा इलाका कार्यालयबाट नै विवरण दर्ता गराउन अनुरोध गरेको छ ।
सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेस प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीले विवरण दर्ता गर्न सक्ने छन्।
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका सबै तथा मधेस प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सक्ने छन् ।
त्यस्तै नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीले सेवा लिन सक्नेछन् र अन्तिममा प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचय पत्र दर्ता सेवा लिन सक्ने जनाइएको छ ।
आवश्यक कागजात
१. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
२. बसाइँ सरी आएकाको हकमा बसाइँसराइको सक्कल प्रमाणपत्र
३. विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र
४. कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सनपट्टा
५. राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचय पत्रको प्रतिलिपि