काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने भएका छन् । सोमवार सर्वोच्च अदालतले पाटन उच्च अदालतले विदेश खेल्न जान प्रतिवन्ध लगाएकोमा सर्वोच्च अदालतले त्यसलाई फुकुवा गरेको हो ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छोड्ने पुस २८ गतेको उच्च अदालतको आदेश सदर गरेको हो ।
सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्नेछ । यस शर्तको उल्लंघन गरेको खण्डमा भने यो सुविधा फिर्ता लिने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।
अदालतले फास्ट ट्रयाकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ ।
सर्वोच्चको आदेशपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सन्दीप लामिछानेको तर्फबाट विदेश खेल्न जान पाउनुपर्ने निवेदनमा सुनुवाई गर्दै विदेशमा खेल्नबाट रोक्नुपर्ने कुनै कारण नरहेकाले विदेशमा खेल्नका लागि जान पाउने आदेश अदालतले दिएको बताए । उनले निजको राहदानी रोक्का भएको भए फुकुवा गर्न पनि आदेश दिएको बताए ।
अदालतले प्रश्तुत मुद्दा जबरजस्ती करणको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकोले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाईका प्रक्रिया पूरा गरी छिटो कारवाही गर्नु भनि काठमाडौ जिल्ला अदालतलाई जानकारी दिई नियम अनुसार गर्न पनि आदेश दिएको छ ।

