काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन्।
उनी भोलि (सोमबार) नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले जानकारी दिए ।
न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएका हुन्।
उच्च अदालतले सफाइ दिएको पत्र नवलपुर जिल्ला अदालतलाई पठाउनेछ। त्यसपछि जिल्ला अदालतले कारागारलाई पत्र लेखेपछि उनी जेलमुक्त हुनेछन्।
पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालत गएका थिए। आइतवार सुनुवाइ सकिएसँगै उच्च अदालतले पलको मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको हो।
२०७८ फागुन ११ गते पलविरुद्ध सुरुमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो। त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पलले आत्मसमर्पण गरेका थिए।