काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै कटाक्ष गरेका छन्।
विभिन्न आन्दोलनका घाइते, बेपत्ता तथा सहिद परिवारको सम्मानमा आयोजित कार्यक्रममा ओलीले प्रचण्ड जसलाई जतिबेला पनि धोखा दिनसक्ने ब्यक्ति भएको बताए।
उनले भने, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’
ओलीले एमालेसहतिको गठबन्धन तोडेकोप्रति व्यंग्य गरे। कांग्रेससँगको सम्झौता बिस्तारै खुल्दै जाने उनले बताए।
‘ठूला कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीको गइहाल्छ’ उनले भने, ‘के के सम्झौता छन् । खुलेको छैन । खुल्दै जान्छ ।’
उनले आफूलाई पनि झुक्याउन खोजेको तर प्रचण्डलाई राम्रोसँग चिनेकाले आफू नझुक्किएको ओलीको दाबी थियो।
‘उहाँ (प्रचण्ड) हातमा चक्कु लिएर बस्नुभएको थियो। तर, फूल भनेर झुक्याउन खोज्नुभयो’ उनले भने, ‘ मेरो आँखाले धोका खाएको थिएन। तपाइँले भनेपछि फूलै होला भनेर बसेँ’ प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताए।
‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि’ उनले भने, ‘म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’
कार्यक्रममा ओलीले बेपत्ता, घाइते तथा सहिद परिवारको लागि अक्षयकोष खडा गर्न दुई लाख दिने घोषणा पनि गरे। उनले जनयुद्धका घाइतेहरुलाई उपचार नपाएको भए एमालेको सम्पर्कमा आउन आग्रह पनि गरे।