हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राप्रपाका तीनै जना मन्त्रीले राजीनामा बुझाएका छन् ।
शनिबारै साँझ बसेको प्रदेश सभाको विशेष समयमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिने घोषणा गरेका थिए। प्रदेशसभा सकिएलगत्तै उनीहरुले राजीनामा बुझाएका हुन्।
राप्रपा बागमती संसदीय दलका नेतासमेत रहेका खानेपानी उर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
केन्द्रको निर्देशनअनुसार बागमती प्रदेशका मन्त्रीहरुले पनि पदबाट राजीनामा दिएका हुन्। बागमती प्रदेशसभाका ११० सदस्यमध्ये राप्रपाका १३ सांसद छन्।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रमा सत्तागठबन्धन भत्किएर कांग्रेस–माओवादी लगायत दलको गठबन्धन बनेसँगै राप्रपा सरकारबाट बाहिरिएको हो ।