काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने क्रिकेट खेल्न यूएई जान पाउनु पर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।
विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार यूएई जाने टोलीको घोषणा गरेको छ। लिग २ का बाँकी ४ खेलका लागि शनिबार जाने टोलीमा सन्दीप परेका छैनन्।
टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जिसी र श्याम (मौसम) ढकाल छन्।
लामिछाने दिएको निवेदनको पेसी सर्वोच्च अदालतले भोलि (शुक्रबार) का लागि तोकेको छ। शुक्रबार नै सर्वोच्च अदालतले आदेश दिएमा सन्दीप क्रिकेट खेल्न यूएई जान पाउनेछन्।
तर पीडित पक्षले पनि दिएको निवेदन एकै ठाउँ राखेर सुनुवाइ अघि बढाउन आदेश भएमा सन्दीपको यूएई यात्रा रोकिने छ।
गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिँदा विदेश जान प्रतिबन्ध लगाएको थियो। उपत्यका छाडेर जाँदा पनि अनुमति लिनुपर्ने आदेश अदालतको थियो।
नेपालमा हालै भएको लिग डिभिजन टु अन्तर्गतको त्रिदेशीय सिरिजमा उत्कृष्ट पुनरागमनसहित १३ विकेट लिएर सिरिजकै सर्वाधिक विकेट लिने खेलाडी घोषित भएका थिए ।