काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले विदेशीले नेपालमा राष्ट्रपतिको नाम सिफारिस गर्न थालेको भन्दै आपत्ति जनाएका छन् ।
शीर्ष नेताहरुका कारण विदेशीको चलखेल बढेको भन्दै रावलले विदेशीले नेपालको राष्ट्रपति सिफारिस गर्ने गरी नेताहरुले राजनीतिलाई तल्लो तहमा झारेको टिप्पणी गरेका हुन् ।
केही दिनअघि मात्रै भारतीय प्राध्यापक एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि उपयुक्त पात्र भन्दै चार जनाको नाममा नेताहरुलाई सुझाव दिएका थिए ।
त्यसअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपतिकै सम्बन्धमा प्राय सबै दलका नेताहरुलाई घेटेका थिए भने भारतीय राजदूत नविन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पनि सक्रियता बढाइरहेका छन् ।
बिहिबार सामाजिक सञ्जालमार्फत् डा. रावलले नेताहरुका कारण नेपाली राजनीतिमा विदेशीको चलखेल सुरु भएको बताएका हुन् ।
उनले भनेका छन्,– ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ? नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’