काठमाडौं । सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ का रुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जनसेवा प्रवाह प्रभावित भएकाले सरकारले दिँदै आएका सार्वजनिक बिदामा पुनर्विचार गर्नुपर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक साता नबित्दै अर्को बिदा थपेका हुन् ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसअघि बागमती प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिन गरेको निर्णय विवादमा परिरहेको बेला केन्द्र सरकारले नै बिदा थप गरेको हो ।
प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) ले १ फागुन २०५२ मा ‘जनयुद्ध’ सुरुवात गरेको थियो।
माघ १२ देखि २२ गतेसम्म चलेको माओवादी स्थायी समिति बैठकले भने माओवादी नेतृत्व भएका स्थानीय सरकारहरुले अभियानका रुपमा जनयुद्ध दिवस मनाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो।
यस्तो निर्णय गर्नु५ दिनअघि भने प्रचण्ड आफैँले सार्वजनिक बिदा धेरै हुँदा सेवाप्रवाह प्रभावित भएको बताउँदै यसमा पुनर्विचार गर्नुपर्ने बताएका थिए।
