काठमाडौँ । चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ को उपनिर्वाचन आगामी २०८० वैशाख १० गते आइतबार हुने भएको छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेल २०७९ माघ २९ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिएको हो ।
निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।
सो निर्वाचन क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७९ माघ १३ गतेको फैसलाले खारेज भएपछि चुनाव हुन थालेको हो ।
निर्वाचन आयोगले यस सम्बन्धमा भनेको छ– “नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने छ भन्ने व्यवस्था रहेको साथै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।”
निर्वाचन आयोगले उपनिर्वाचनसम्बन्धी निर्वाचनको कार्यक्रम पनि सार्वजनिक गरेको छ । त्यसअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक हुने छ । त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुने छ ।