काठमाडौं । काठमाडौंमा आपसी लेनदेन नमिल्दा अपहरणमा परेको नाटक गरेर प्रहरीलाई झुक्याएको पाइएको छ ।
चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्ट अगाडीबाट मानिस अपहरणमा परेको प्रहरीलाई जानकारी आएको थियो । सूचनापछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटिएको थियो। तर अनुसन्धानका क्रममा अपहरणको घटना नै नभएको खुलेको थियो ।
उक्त घटना अपहरण नभई लेनदेन भएको खुलेको एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । अपहरणमा परेको भनी झुक्याउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा ६ घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खनियाखोला १ज्ञ का ४२ वर्षीय जगतबहादुर भोलान, बनेपाका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ थाक्रे ५ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन् ।
उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।