दाङ । दाङको तुलसीपुर कारागारभित्र एक महिला बन्दी बलात्कृत भएकी छन् ।
ठगी मुद्दामा जेल परेकी ती महिलाले कारगारका चौकिदारसमेत रहेका तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
चौधरी जबरजस्ती करणी मुद्दामै जेल जीवन बिताइरहेका व्यक्ति हुन् । उनी पुरुषतर्फका चौकिदार हुन् भने बताल्कृत महिला महिलातर्फकी चौकिदार भएको प्रहरीले जनाएको छ ।
जेलमा चौकिदारलाई अन्य कैदीबन्दीको तुलनामा बढी स्वतन्त्रता हुने गर्दछ । कारागारको भान्सामा भाँडा माझ्दै गरेको अवस्थामा चौधरी पसेर कोठाको चुक्कुल लगाइ जबरजस्ती गरेको भन्दै महिलाले किटानी जाहेरी दिएकी छन् । आफू चिच्याउन लागेपछि मुख बन्द गरेर जबरजस्ती करणी गरेको पीडितले प्रहरी समक्ष बताएकी छन्।
गत कात्तिक १७ गतेको घटना हालै सार्वजनिक भएको हो ।
अभियुक्त चौधरीमाथि कारागार प्रशासनसँग समन्वय गरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको थियो ।
अहिले पीडित महिला तुलसीपुर कारागारमा छन् भने अभियुक्त चौधरीलाई घोराही कारागारमा स्थानान्तरण गरिएको छ ।