टोकियो । जापानस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुन: सुरु गरेको छ । जनवरी २९, २०२३ आइतबारका दिन सूचना जारी गरेर दूतावासले भिसा सेवा पुन: सुरु भएको जनाएको हो ।
बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी गरेपछि चीनले पनि जापानमा भिसा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
जापान भ्रमण गर्न चाहने चिनियाँ नागरिकलाई टोकियोले कोरोना परीक्षण नकारात्मक भएको प्रमाणबिना प्रवेशाज्ञा जारी नगर्ने नीति अख्तियार गरेपछि बेइजिङले पनि जापानी नागरिकलाई भिसा नदिने प्रतिशोधात्मक कदम चालेको थियो ।
आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकोमा जापानको आलोचना गर्दै चीनले पनि गत पुस २६ गतेदेखि जापानी नागरिकलाई भिसा दिन बन्द गरेको थियो । बेइजिङको उक्त कदमको आलोचना गर्दै त्यसलाई फिर्ता लिन माग गरेको थियो । साथै चीनले दक्षिण् ाकोरियाली नागरिकलाई भिसा नदिने सूचना जारी गरेको थियो । (रासस/एएफपी)