काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो ।
सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत भएका थिए ।
अदालतको फैसलासँगै लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएका थिए ।