काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रेमप्रसाद आचार्यको आत्मदाह व्यक्तिगत घटना मात्रै नभएको बताएको छ ।
राजमोले भनेको छ– उक्त घटना विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा देखा परेको विकृति र विसङ्गतिको परिणाम हो ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ माघ १४ गते शनिबार प्रेसवक्तव्य जारी गर्दैै राजमोले यसतो अवधारणा व्यक्त गरेको हो ।
राजमोले यस्ता आर्थिक, सामाजिक र राजनीतिक विकृतिको अन्त्यका लागि राज्यले आवश्यक कदम उठाउनुपर्ने तथा त्यस्ता विकृति, विसङ्गति विरुद्ध सांस्कृतिक रूपान्तरणका लागि सम्पूर्ण जनतासित अपिल गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“प्रेमप्रसाद आचार्यको आत्मदाह एउटा व्यक्तिगत घटना मात्र नभएर देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा व्यापक रूपले देखा परेका विकृति र विसङ्गतिको परिणाम हो । अहिलेसम्म कायम हुँदै आएका विभिन्न सरकार वा व्यवस्थामा भएका कमजोरीले नागरिक जीवनलाई नकारात्मक र निराश बनाउँदै लगेको कुरा स्पष्ट छ । अहिले भइरहेका विभिन्न आत्महत्याका घटना त्यसैका परिणाम हुन् । हाम्रो पार्टीले राज्य, सरकार र व्यवस्थामा समेत सुधार र परिवर्तनका लागि व्यापक जनचेतना उठाउँदै सङ्घर्ष गर्नुपर्ने आवश्यकतामाथि जोड दिन्छ ।
देशमा आत्महत्याका घटना लगातार बढ्दै गइरहेका छन् । अन्तरजातीय पे्रमसम्बन्धका कारणले समाजले उनीहरूमाथि उत्पीडन गरेकाले युवायुवतीले आत्महत्या गर्ने गरेका कैयौँ घटना सार्वजनिक हुँदै आएका छन् । समाजको रूढिवादी, जातिगत संस्कार र भेदभावका कारणले त्यस प्रकारका घटना घट्ने गरेका छन् । त्यस्तै अस्वस्थ प्रतिस्पर्धा, व्यापार व्यवसाय आदिबाट ऋणको चरम भार, घरेलु हिंसा आदिबाट पनि आत्महत्याका धेरै घटना हुँदै आएका छन् । यी सबै गम्भीर प्रकारका सामाजिक विकृतिलाई हटाउनका लागि सरकार र राज्यले समेत आवश्यक कदम उठाउनु आवश्यक छ । यसका साथै विकृत प्रकारको सामाजिक संस्कृतिमा रूपान्तरणको लागि सम्पूर्ण जनता र संस्थाको समेत ध्यान जानुपर्ने आवश्यकता छ ।”