काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा आज सभामुखको निर्वाचन हुँदै छ । प्रतिनिधि सभाको आजको बैठक अहिले विहान ११ बजे बस्दैछ । बैठकमा सभामुख निर्वाचन सम्बनधी प्रस्ताव पेश हुनेछ ।
संसद सचिवालयका अनुसार बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ।
सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन्।
यस्तै, उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ८९ (मत दिन पाउने ८०), जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् भने न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।
राष्ट्रिय सभाको बैठक पनि आजै
यस्तै, आजै दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक पनि बस्दै छ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक,२०७९ समा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।