काठमाडौं । नेकपा एमाले छाडेका नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर समाजवादीमा प्रवेश गर्नुभएको हो । माधवकुमार नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै हुनुहुन्थ्यो। २०७८ असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई मिलाउन बनाइएको १० बुँदे सहमतिपत्रका एकजना मस्यौदाकार भुसाल पनि हुनुहुन्थ्यो ।
तर नेपालले २०७८ साउनमा एमाले विभाजन गर्दा उहाले माधव नेपाललाई साथ दिनुभएको थिएन। तर मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि उहाँ पार्टी छाडेर स्वतन्त्र रुपमा रुपन्देही १ मा उठ्नुभएको थियो ।
उहाँलाई नेपाली कांग्रेस र माओवादीको पनि साथ मिल्दा उहाँले एमालेका छविलाल विश्वकर्मासँग पराजय व्यहोर्नुभएको थियो ।
मंसिर ४ को निर्वाचनपछि उहाँ नेपालनिवास कोटेश्वर पुगेर वार्ता गर्नुभएको थियो। त्यसपछि उहाँले सोमबार मात्रै समाजवादीलाई पार्टी प्रवेशबारे एउटा दस्तावेज पठाए पठाउनुभएको थियो ।
उक्त दस्तावेजको समाजवादीले उत्तर दिँदै भुसाललाई पार्टीमा स्वागत गर्न तयार रहेको जनाएको थियो। दुवै पक्षबीच कुरा मिलेपछि एमालेका तत्कालीन अर्थ तथा योजना विभाग प्रमुख भुसाल अब समाजवादीको महासचिव बन्नुहुने छ ।