काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशका दलहरूलाई मुख्यमन्त्री पद दाबी गर्न दिएको एक साताको समय आज (पुस २४ गते) साँझ ५ बजे सकिँदै छ। तर, प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने विषयमा दलहरु अझै अनिर्णित बनेका छन् ।
केन्द्रमा निर्वाचनअघि बनेको पाँचदलीय गठबन्धन भत्किएर अकस्मात नेकपा–एमाले लगायतका दलहरुको सत्ता गठबन्धन बनेपछि प्रदेश सरकारबारे यसअघिका समीकरण पनि बिग्रिएको छ ।
सत्तागठबन्धनको केन्द्रबाट निर्णय नआउँदा सातवटै प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्यौल छ ।
प्रदेश १ मा सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।
प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की र नेकपा (माओवादी केन्द्र) का नेता ईन्द्र आङ्बो मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । तर, केन्द्रबाट नेताहरूले यसको छिनोफानो नगरिदिँदा प्रदेश प्रमुखले दिएको समयसीमा घर्कन लाग्दासमेत अझै सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन।
प्रदेशमा कुनै पनि दलको बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङको कार्यालयले आह्वान गरेको थियो ।
९३ सदस्यीय प्रदेश १ मा सबै भन्दा ठूलो दल एमालेसँग ४० सिट छ। माओवादी केन्द्रसँग १३ सिट छ । यी दुवै दल मिल्दा आरामसँग बहुमत पुग्छ । केन्द्रीय गठबन्धनमा सामेल राप्रपाको ६ र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ ।
प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।