जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
१ सय ४ जना प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेका छन् भने २ जना सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको शपथ रोकिएको हो ।
सर्वोच्च अदालतले उनीहरुको हकमा निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले गत मंसिर २९ गते यी दुवैको हकमा फैसला सुनाएको थियो ।
शपथ गर्न नसकेका दुवै जनालाई माओवादीले समानुपातिक कोटामा उम्मेदवार बनाइएको थियो। यता, प्रदेश सभामा ५३ जना सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन् भने ४९ जनाले विभिन्न मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बज्जिका भाषामा १३, मैथिली भाषामा ११, भोजपुरी भाषामा ७ जनाले, थारु भाषामा २ जना तथा मगही र हिन्दी भाषामा २/२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन्। जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले विवादबीच मधेशी भाषामा शपथ लिएका छन्। जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरुमध्ये १२ जना प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका हुन्। जनमत पार्टीका सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।