नेपालगञ्ज । नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरूले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका छन् ।
माइती नेपालले यहाँ आयोजना गरेको मानव बेचबिखन विरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखन विरुद्धको लडाइँका लागि अन्तरदेशीय संयन्त्र निर्माण अहिलेको आवश्यकता भएको बताए ।
उहाँहरूले मानव बेचबिखन दुवै देशको साझा समस्या भएकाले त्यसको रोकथामका लागि स्थानीयस्तरदेखि नै दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी सङ्घसंस्थाबिचमा मानव बेचबिखन विरुद्धको कामका लागि प्रभावकारी संयन्त्र आवश्यक हुने र सो संयन्त्रले दुई देशबिच सही सूचना आदानप्रदान हुनाका साथै पीडितको उद्धार तथा बेचबिखन हुनबाट रोकथाम गर्न सकिने सरोकारवालाले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण रहेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र सङ्घसंस्था मिलेर अघि बढ्नुपर्ने बताए ।
बाँकेका प्रजिअ सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्धा दुई देशको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकमा प्रमुख रूपमा उठ्ने गरेको जानकारी दिँदै यो समस्या दुवै देशको साझा भएकाले चनाखो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानव बेचबिखन भारतमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकमा समेत भइरहेकाले भारतले यस विषयमा सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भारतको एसएसबी ४२ नं. बटालियनका कमान्डेड तपनकुमार दासले मानव बेचबिखन रोकथामका लागि ह्वाट्सअप समूह बनाएर प्रभावकारी रूपमा काम गर्न सकिने बताउनुभयो । उहाँले यो विषय विद्यालय स्तरमा मानव बेचबिखन विरुद्ध अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
माइती नेपालका प्रमुख केशव कोइरालाले मानव बेचबिखनको काम कसरी भइरहेको छ भन्ने विषयमा जानकारी दिनुभएको थियो । (रासस)