पेरिस । कोभिड–१९ को पहिलो सङ्क्रमित बिरामी फेला परेको तीन वर्षपछि पनि विश्वव्यापी रूपमा मृत्यु हुनेको वास्तविक सङ्ख्या मापन गर्न कठिन छ । यद्यपि, विज्ञहरू आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरै मृत्यु भएको कुरामा सहमत छन् ।
आधिकारिक र वास्तविक आँकडाबिचको भिन्नता अर्को वर्ष अझ फरक हुन सक्छ । नमूना प्रक्षेपणले शून्य कोभिडपछिको चीनमा १० लाखभन्दा बढीको मृत्युको भविष्यवाणी गरेको छ । चीनले हालै यसले मृत्युको गणना गर्ने प्रक्रियालाई अझ सङ्कुचित गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलोपटक यो भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ यद्यपि देशहरूले कोभिडबाट हुने मृत्युलाई फरक फरक तरिकाले गणना गर्छन् र महामारीको दौरान विधिहरू परिवर्तन भएका छन् ।
युनिभर्सिटी अफ जेनेभाको इन्स्टिच्युट अफ ग्लोबल हेल्थका निर्देशक एन्टोनी फ्लाहाल्टले कोभिडका कारण मृत्यु भएको पुष्टि गर्नु निकै कठिन अभ्यास हुन सक्ने बताउनुभयो । फ्लाहाल्टले भन्नुभयो– ‘विकसित देशको अस्पतालमा पहिले नै कोभिडको निदान भइसकेको बिरामीको मृत्यु सरल हुन सक्छ तर अक्सर यस्तो हुँदैन र डाक्टरलाई उनीहरूलाई मार्गदर्शन गर्न सामान्यतया धेरै जानकारी हुँदैन ।’
यसको सट्टा अनुसन्धानकर्ताले सन् २०२० यता सबै कारणले मृत्यु हुनेको कुल सङ्ख्यालाई महामारी नभएको भए के अपेक्षा गरिएको थियो भन्ने कुरासँग तुलना गर्न खोजेका छन् ।
यी आँकडाको प्रयोग गर्दै डब्लुएचओका अनुसन्धाताले यसै महिनाको सुरुमा नेचर जर्नलमा २०२० र २०२१ मा कोभिडबाट एक करोड ४८ लाख ३० हजार बढी मानिसको मृत्यु भएको उल्लेख गरेका थिए । यो दुई वर्षको अवधिमा आधिकारिक रूपमा ५४ लाख कोभिडका कारण मृत्यु भएके भन्दा करिब तीन गुणा बढी हो ।
अमेरिकास्थित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले गत मार्चमा गरेको अनुसन्धानमा यो सङ्ख्या एक करोड ८२ लाखभन्दा बढी भएको अनुमान गरिएको थियो तर फ्लाहाल्टले भन्नुभयो– ‘आँकडाहरू पनि सम्भवत: अझै पनि कम आँक्न सकिन्छ ।’
यो वर्ष मृत्यु हुनेको सङ्ख्या विस्तारै बढेको छ । द इकोनोमिस्टको नियमित अद्यावधिक तथ्याङ्कअनुसार महामारी सुरु भएयता दुई करोड १० लाख बढी मानिसको मृत्यु भएको छ, जुन आधिकारिक सङ्ख्याभन्दा ३.१ गुणाले बढी हो । (रासस/एएफपी)