काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाएको छ । संयन्त्रको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई चयन गरेको छ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए ।
‘सत्ता साझेदार दलको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुने निर्णय भएको छ’ उनले भने ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि आज पहिलोपटक सत्ता साझेदार दलककका शीर्ष नेताहरुको बैठक बसेका हो।
बैठकमा सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकमा एमालेका अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी थिए ।