काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन–२०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले सोहीअनुसार तयारी थालिएको हो ।
कानुनी आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ ।
वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।
संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकैपटक नभई फरक फरक मितिमा निर्वाचन हुने छ ।
यस निर्वाचनमा सङ्घीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुने छन् । मुलुकको विद्यमान जनसङ्ख्याअनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्का प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुने छ ।
आयोगले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मङ्सिर २९ गते प्रतिवेदन बुझाएको थियो । राष्ट्रपतिको आह्वानबमोजिम दुईभन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्यायपरिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्ने छ । निर्वाचनमा उम्मेदवार हुन सङ्घीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्ने छ ।
निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँच जना प्रस्तावक र पाँच जना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ ।