काठमाडौँ । नेकपा (मसाल) ले विमल पोखरेलले सार्वजनिक रूपमा व्यक्त गरेका विचारको सार्वजनिक आलोचना गरेको छ । मसालनिकट अखिल (छैठौं) का पूर्व अध्यक्षसमेत रहिसकेका पोखरेलले पाटीनीति विपरीत पटक पटक भिन्नमत सार्वजनिक गरेपछि पार्टीले पनि उहाँका विचारको सार्वजनिक रूपमै आलोचना गरेको हो ।
प्रवक्ता रामप्रकाश पुरीले २०७९ पुस १२ गते मंगलबार जारी गर्नुभएको स्पष्टीकरणमा सो जानकारी दिइएको छ । पोखरेलले पार्टीको अनुशासनलाई पुरानो भइसकेको ठान्दै आफ्ना भिन्नमत सार्वजनिक गरेकोमा त्यसबाट पार्टीपङ्क्तिमा भ्रम उत्पन्न भएकाले उहाँको सार्वजनिक आलोचना गर्ने ठेगान भएको स्पष्टीकरणमा उल्लेख छ ।
यस्तो छ, प्रवक्ता पुरीले सार्वजनिक गर्नुभएको स्पष्टीकरण यस्तो छ :
“कामरेड विमल पोखरेलले बाहिर ल्याएका कतिपय अभिव्यक्तिहरू पार्टीको स्वीकृति नीतिका विपरीत भएको हुनाले हामीले उहाँका विचारलाई सार्वजनिक रूपले नै आलोचना गर्ने ठेगान गरेका छौँ ।
१. हाम्रो पार्टीको प्रचलित नियमअनुसार पार्टीका कुनै पनि सार्वजनिक विचारलाई सार्वजनिक रूपले आलोचना गर्न मिल्दैन तर उहाँले लगातार पार्टीका नीतिको सार्वजनिक रूपले नै आलोचना गर्दै आउनुभएको छ । त्यो गम्भीर प्रकारको अनुशासनविहीनता हो ।
२. उहाँले यो सोचेको पाइन्छ कि पार्टीको अनुशासनसम्बन्धी धारणा पुरानो कुरा भइसक्यो र अब पार्टीका प्रत्येक सदस्यले आफ्ना भिन्न विचार खुल्ला रूपले लैजान पाउनुपर्दछ । त्यही दृष्टिकोणअनुसार उहाँले आफ्ना सबै भिन्नमतलाई खुला रूपमा लैजाने गर्नुभएको छ । त्यो अराजकतावादी चिन्तन प्रणाली हो । यहाँसम्म कि उहाँले जनवादी केन्द्रीयतामाथि आधारित अनुशासनलाई मुर्दा अनुशासनसम्म बताउनुभएको छ ।
३. ओलीको नेतृत्वमा देशमा प्रतिगमनको गम्भीर खतरा उत्पन्न भएको थियो र त्यस विरुद्ध सङ्खर्ष गर्न नै पाँचदलीय गठबन्धन वा चुनावी तालमेल बनेको थियो तर उहाँले ओलीले प्रतिगमनको बाटो समातेको कुरालाई विरोध गर्नुहुन्छ र प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रतिगमनलाई नै समर्थन गर्नुहुन्छ ।
४. उहाँले पाँचदलीय गठबन्धन वा चुनावी तालमेललाई पनि गलत बताउनुहुन्छ र लगातार तिनीहरूको विरोध गर्दै आउनुभएको छ ।
५. उहाँका त्यस प्रकारका विचारबाट पार्टीपङ्क्ति र हाम्रो पार्टीका शुभचिन्तकमा पनि भ्रम उत्पन्न हुने भएकाले हामीले तिनीहरूको सार्वजनिक रूपमा नै खण्डन गर्नुपर्ने आवश्यकता ठानेका छौँ ।
६. पार्टीका नीति र विचारमाथि दुस्मनशक्ति वा विरोधीले चौतर्फी रूपमा नै हमला गर्ने गरेका छन् र त्यो कार्य अस्वाभाविक पनि होइन तर पार्टीका समर्थक वा शुभचिन्तकबाट त्यस प्रकारका विचार आउनु गम्भीर दु:ख र चिन्ताको विषय हो ।”