काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानन्त्री बन्न सबै प्रतिगामी तत्वसहित अमेरिकी र भारतीय साम्राज्यवादीसँग साँठगाँठ गरेको आरोप लगाएको छ ।
प्रचण्ड पाँचदलीय गठबन्धन छोडेर एकाएक एमालेसँग मिल्न गएपछि राजमोले उनको निन्दा गरेको छ ।
‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो’ अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्तिमार्फत भन्नुभएको छ ।
यस्तो छ, विज्ञप्ति
एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध पाँच दलीय गठबन्धनले लामो समयदेखि संघर्ष गर्दै आएको थियो । गत निर्वाचनमा देशव्यापी प्रतिगमनका विरुद्ध पाँचदलीय चुनावी तालमेल समेत भएको थियो । प्रतिगमनका विरुद्ध तथा गठबन्धनका पक्षमा नेपाली जनताले निर्वाचन मार्फत् आफ्नो अभिमत समेत व्यक्त गरेको अवस्था थियो । गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो । प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्त जनताको जनादेशप्रतिको अपमान र स्वयं जनताप्रतिको ठूलो धोका पनि हो ।
प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरूसित पनि गठबन्धन गरेका छन् । उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा तथा भत्र्सना गर्दछौँ ।
२०७९ पौष ११ गते
चित्रबहादुर केसी
अध्यक्ष
एमालेसितको साँठगाठमा प्रचण्ड प्रधानमन्त्री बन्नु जनताप्रतिको धोका हो : मसाल