काठमाडौं । पार्टीको भातृ संगठनका एक महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका नेकपा ‘माओवादी केन्द्र’ का केन्द्रीय सदस्य बद्री बजगाईं निलम्बित भएका छन्।
अनेरास्ववियू ‘क्रान्तिकारी’ का महिला कार्यकर्ताको निवेदन र सामाजिक सञ्जालबाट पठाइएका अश्लिल ‘म्यासेज’को प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिशका आधारमा उनलाई केन्द्रीय समितिबाट निलम्बन गरिएको माओवादीले जनाएको छ।
सो सम्बन्धमा सत्य–तथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’द्वारा जारी सर्कुलरमा उल्लेख छ।
माओवादीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरी यही पुस मसान्तसम्म सबै प्रदेशको लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई निर्देशन दिएको छ। रासस