दार्चुला । महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी भारतले निर्माण गरिरहेको तटबन्ध र नेपालमाथि गरेको ज्यादतीविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुलामा विरोध प्रदर्शन गरेको छ । नेकपाले सोमबार सदरमुकाम खलंगा बजारमा भारतविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले भारतीय अतिक्रमण बन्द गर, नेपालीमाथि ज्यादती बन्द गर, लिपुलेक हाम्रो हो, कालापानी फिर्ता गर् लगायतका नारा लगाएका छन् ।
भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै प्रदर्शन गरेको नेकपाले जनाएको छ ।
नेपाललाई असर पुग्ने गरी भारतले महाकालीमा तटबन्ध निर्माण गरिरहेको छ । स्थानीयको विरोध र सरकारले कूटनीतिक नोट पठाएपछि तटबन्धको संरचना हटाउन भारत सहमत भएपनि अझै कार्यान्वयन गरेको छैन ।
नेपाली नागरिकहरुले ढुंगा प्रहार गर्दा तटबन्ध निर्माणमा संलग्न मजदुर घाइते भएको भन्दै भारतीय पक्षले नेपाली नागरिकविरुद्ध मुद्दा दर्ता गरेको छ।
भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको भन्दै नेकपाले ज्यादती बन्द गर्न चेतावनी दिएको छ ।