काठमाडौं । आन्तरिक राजश्व कार्यालयका कर्मचारी भन्दै काठमाडौंमा ठगी गर्ने गिरोह पक्राउ परेको छ । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं’ भन्दै उनीहरुले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका मिनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सिर्जना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन ।
उनीहरुको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।
उनीहरुमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ । अहिले पीडितहरुको उजुरी लिने काम भईरहेको पनि प्रहरीले जनाएको छ ।